भरतपुर । लगातार पहिरोका कारण अवरुद्ध मुग्लिङ–नारायणगढ सडक आज बिहान ५ बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा निरन्तर पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको थियो।
शुक्रबार साँझदेखि अवरुद्ध सडक आइतबार दिउँसो अबेर मात्र एकतर्फी सञ्चालनमा आएको थियो। तर सोमबार साँझ ८ बजे पुनः पहिरो खसेपछि राति नै सडक सफा गरी बिहानदेखि पुनः सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए।
सवारीसाधनको चाप अत्यधिक भएकाले आफ्नो लेन प्रयोग गरेर मात्र यात्रा गर्न निरीक्षक सिंहले आग्रह गरेका छन्। दुई दिनदेखि सडकमा अलपत्र परेका यात्रु भने अब गन्तव्यतर्फ लाग्न थालेका छन्।
यो सडक खण्डमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत हुने गर्छ। सडक दुईतर्फी सञ्चालन नहुञ्जेल वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले यात्रुलाई आग्रह गरेको छ।