फिफा विश्वकपअन्तर्गत शुक्रबार सम्पन्न समूह ‘सी’ को खेलमा ब्राजिलले हाइटीलाई ३–० गोल अन्तरले पराजित गरेको छ।
फिलाडेल्फिया स्टेडियममा भएको खेलमा ब्राजिलका लागि म्याथ्यूस कुन्हाले २३औँ र ३६औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो अग्रता दिलाए। पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले गोल थपेपछि ब्राजिल ३–० ले अगाडि बढेको थियो।
दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि ब्राजिलले पहिलो हाफको अग्रतालाई कायम राख्दै सहज जित दर्ता गर्यो।
ब्राजिल र हाइटीबीच यसअघि सन् २०१६ को कोपा अमेरिकामा भेट भएको थियो। उक्त खेलमा ब्राजिलले हाइटीलाई ७–१ को फराकिलो अन्तरले पराजित गरेको थियो। विश्वकपको इतिहासमा भने यी दुई टोली पहिलो पटक आमनेसामने भएका हुन्।