सेयर बजारमा उतारचढावबीच सामान्य सुधार, कारोबार घटेर ४ अर्ब ४८ करोडमा सीमित

काठमाडौं — बुधवार दिनभर तीव्र उतारचढाव देखिएको सेयर बजार कारोबारको अन्तिम समयमा भने ९.६६ अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक २६७६.२८ अंकमा पुगेर बन्द भएको हो।

बजार खुल्नेबित्तिकै थोरै अंकले बढेको नेप्से ११:१५ बजे घटेर २६७३.२३ अंकमा झरेको थियो। त्यसपछि उकालो लाग्दै ११:४४ बजे २७०१.०९ अंकमा पुगेपनि त्यस बिन्दुमा टिक्न सकेन। १२ बजे फेरि २६८५ अंकमा झरेको सूचक साढे १२ बजे फेरि २७०० नजिक पुगेपनि टिक्न नसकी फेरि ओरालो लाग्दै २:३६ बजे २६७२.२२ अंकमा झर्‍यो। तर, अन्त्यतिर बजारले गति लिँदै २६७६.२८ अंकमा दिन सकियो।

बजार सूचक बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ। बुधबार कुल कारोबार रकम ४ अर्ब ४८ करोड रुपैयाँमा सीमित भयो भने अघिल्लो दिन मंगलबार ५ अर्ब २५ करोडको कारोबार भएको थियो।

बुधबार कुल १५४ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रह्यो। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सबैभन्दा उच्च ९.९८ प्रतिशतको वृद्धि देखिएको छ भने विन नेपाल लघुवित्तको सेयर ७.९९ प्रतिशतले उकालो लागेको छ। उता, सिन्धु विकास बैंकको सेयर मूल्य ७.४७ प्रतिशतले घटेको छ।

समूहगत सूचक हेर्दा बैंकिङ र व्यापार समूहबाहेक अन्य सबै समूहमा सुधार देखिएको छ। बैंकिङ समूह ०.०३ प्रतिशतले घट्दा व्यापार समूह ०.४० प्रतिशतले ओरालो लाग्यो। होटल तथा पर्यटन समूहमा २.४४ प्रतिशत, लगानी समूहमा १.४८ प्रतिशत र उत्पादन समूहमा १.३६ प्रतिशतले सुधार आएको छ।

प्रतिक्रिया