काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेड ले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले फागुन १७ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४२ हजार ६०० कित्ता साधारण शेयर सार्वजनिक रूपमा बिक्रीमा ल्याएको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट भइसकेको छ भने कर्मचारीका लागि ४४ हजार ४०० कित्ता सुरक्षित गरिएको छ।
कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत बराबर ३२ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो। जसमध्ये प्रभावित क्षेत्रका स्थानीयलाई ९ लाख ८० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख २२ हजार कित्ता र म्युचुअल फण्डलाई १ लाख ११ हजार कित्ता बाँडफाँट गरिसकिएको छ। सर्वसाधारणका लागि खुला गरिएको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। छिटोमा फागुन २२ गते र ढिलोमा चैत १ गतेसम्म आवेदन दिन पाइनेछ।
आईपीओलाई इक्रा नेपाल ले ‘इक्राएनपी–डबल बी’ इस्यूअर रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम संकेत गर्छ। कम्पनीले सञ्चालन गरेको ४.९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत आयोजनाको कुल लागत करिब १ अर्ब १९ करोड रुपैयाँ रहेको छ। आयोजनाबाट २०८१ फागुन २५ गतेदेखि व्यावसायिक उत्पादन सुरु भएको कम्पनीले जनाएको छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।