चितवन - नेकपा एमालेको बन्दसत्रमा शनिबार साँझ हङ्गामा भएको छ । उपमहासचिव विष्णु पौडेलले निर्वाचन नगरी प्यानल चयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई जिम्मा दिने प्रस्ताव सर्वसम्मतिले पारित गर्न बन्दसत्रमा पेस गरेपछि हङ्गामा भएको हो । पौडेलको उक्त प्रस्तावमाथि उपाध्यक्ष भीम रावल र घनश्याम भुसालले कडा आपत्ति जनाएका थिए ।पार्टीको नवौँ केन्द्रीय कमिटीको शुक्रबार बसेको बैठकले पदाधिकारी र सदस्यहरू थप गर्ने प्रस्ताव बन्दसत्रमा पेस गर्ने निर्णय गरेको थियो । तर पाँच घण्टा ढिला गरी सुरु भएको बन्दसत्रमा उपमहासचिव पौडेलले ताली पड्काएर अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय सदस्यहरू चयन गर्ने जिम्मेवारी दिन महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेपछि हङ्गामा सुरु भयो ।
पौडेलले प्रस्ताव पेस गरे लगत्तै मञ्चमा रहेका उपाध्यक्ष रावलले आपत्ति जनाएका थिए । उनले यो लोकतन्त्र विपरीत कुरा रहेको बताउँदै यदि यसो गर्ने हो भने नेकपा एमालेले अब राज्यका कुनै पनि चुनावमा भाग नलिने र सबै सहमतिमा नै गर्ने निर्णय गर्नुपर्ने भन्दै कटाक्ष गरेका थिए ।
रावलले बोल्ने क्रममा फ्लोरबाट केही नेताहरूले हुटिङ पनि गरेका थिए । बैठकमा सहभागी एक नेताले रावलको भनाइ उद्धृत गर्दै भने, 'हामीले महाधिवेशनमा अराजकता विरुद्ध लड्ने भनिरहेका छौँ । अहिले मैले आफ्ना कुरा राख्दै गर्दा हुटिङ गर्ने ?' रावलको भनाइ पछि हुटिङ नेताहरू शान्त बनेका थिए ।