काठमाडौं । बजेट घोषणाअघि विभिन्न भन्सार नाकाबाट विद्युतीय सवारीसाधन (ईभी) जाँचपास भएको विषयलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जोड्दै फैलाइएका अफवाह तथा चरित्रहत्याको प्रयासप्रति अर्थमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ।
अर्थमन्त्रीका स्वकीय उपसचिव तथा जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले विज्ञप्ति जारी गर्दै रसुवागढी भन्सार नाकामा भन्सार बिन्दुमै नआएका सवारीसाधनको जाँचपास भएको भन्ने विषयमा अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले अनुसन्धान गरिरहेको जानकारी दिएका छन्।
विज्ञप्तिअनुसार घटनाको प्रारम्भिक अनुसन्धानपछि जेठ २० गते प्रमुख भन्सार अधिकृतसहित नौ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएर भन्सार विभाग तानिएको छ। उक्त घटनाबारे थप अनुसन्धान जारी रहेको सचिवालयले जनाएको छ।
त्यसैगरी मुस्ताङस्थित कोरला नाकाबाट जाँचपास भएका विद्युतीय सवारीसाधन सम्बन्धी विषयमा पनि मन्त्रालयद्वारा गठित छानबिन समितिले स्थलगत अनुसन्धान गरिरहेको उल्लेख गरिएको छ। मन्त्रालय र भन्सार विभागका उपसचिवहरूको नेतृत्वमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसमेत सहभागी टोली फिल्डमा खटिएको जनाइएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा भन्सार छलीको आशंकामा केही सवारीसाधन तथा आयातकर्ता कम्पनीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको र त्यससम्बन्धी विस्तृत विवरण सार्वजनिक गरिने सचिवालयले जनाएको छ।
विज्ञप्तिमा संलग्न व्यक्तिहरूमाथि कानुनी प्रक्रिया सुरु भइसकेको र केही प्रकरणमा कानुनी उपचार खोज्ने प्रक्रिया जारी रहेको उल्लेख गरिएको छ। साथै अर्थमन्त्री र मन्त्रालयसँग सम्बन्धित विषयमा धारणा बनाउँदा सम्बन्धित जिम्मेवार अधिकारीसँग सत्यतथ्य बुझ्न, अर्थतन्त्र, बजेट तथा भन्सारजस्ता प्राविधिक विषयमा यथार्थ जानकारी लिएर मात्रै समाचार सामग्री प्रकाशन तथा प्रसारण गर्न सम्बन्धित पक्षसँग आग्रह गरिएको छ।