सूर्यकुण्ड हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणका लागि आज माघ १८ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन सुरु गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो। सोही प्रक्रियापछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो।

कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख रुपैयाँको २० प्रतिशत बराबर हुने १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। तीमध्ये आयोजना प्रभावित स्थानीयका लागि ६ लाख ८९ हजार ६७५ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ६८ हजार ९६७ कित्ता शेयर बाँडफाँट भइसकेको छ। अब कर्मचारी र सामूहिक लगानी कोषका लागि सुरक्षित हिस्सा छुट्याई बाँकी ५ लाख ७२ हजार ४३१ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो।

उक्त आईपीओमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा माघ २१ गते र ढिलोमा फागुन ३ गते बन्द हुने कम्पनीले जनाएको छ। केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरिरहेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रहेको छ भने आयोजनाको विद्युत अनुमतिपत्र अवधि २६ वर्ष बाँकी छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया