काठमाडौं । अमेरिकाले दक्षिणी इरानमा पुनः सैन्य आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार हर्मुज जलडमरूमध्य नजिक अमेरिकी सेना र व्यावसायिक जहाजका लागि खतरा ठानिएका इरानी सैन्य संरचनालाई लक्षित गर्दै रातारात हमला गरिएको हो।
अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार इरानबाट उडाइएका केही ड्रोन अमेरिकी सेनाले खसाएको दाबी गरिएको छ। ती ड्रोनले अमेरिकी फौज र हर्मुज हुँदै सञ्चालन हुने जल यातायातलाई जोखिममा पार्ने प्रयास गरेको आरोप अमेरिकाले लगाएको छ।
अमेरिकी सेनाले चारवटा ‘वन–वे अट्याक ड्रोन’ नष्ट गरेपछि पाँचौँ ड्रोन उडाउनुअघि इरानको बन्दर अब्बासस्थित ड्रोन नियन्त्रण केन्द्रमा हवाई आक्रमण गरिएको बताइएको छ। बन्दर अब्बास इरानको महत्वपूर्ण सामुद्रिक बन्दरगाह मानिन्छ।
अमेरिकी अखबार द न्युयोर्क टाइम्सका अनुसार बिहीबार बिहान बन्दर अब्बास क्षेत्रमा विस्फोटको आवाज सुनिएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पनि पुष्टि गरेका छन्। इरानले शहरको पूर्वी क्षेत्रमा तीनवटा विस्फोट भएको र वायु प्रतिरक्षा प्रणाली सक्रिय गरिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
तीन दिनभित्र अमेरिकाले गरेको यो दोस्रो सैन्य कारबाही हो। यसअघि सोमबार अमेरिकाले बारुदी सुरुङ बिछ्याउन खोजिएका डुंगा र मिसाइल प्रक्षेपणस्थलमाथि रक्षात्मक हमला गरेको दाबी गरेको थियो।
तर इरानले त्यसलाई युद्धविराम उल्लंघनको गम्भीर घटना भनेको छ।
अमेरिका र इरानबीच तीन महिनादेखि जारी तनाव अन्त्यका लागि कतारमार्फत अप्रत्यक्ष वार्ता भइरहेका बेला नयाँ सैन्य गतिविधि सार्वजनिक भएका हुन्। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि द्वन्द्व चर्किएको थियो।
यसबीच हर्मुज जलडमरूमध्य सञ्चालनबारे पनि दुवै पक्षबीच विवाद देखिएको छ। इरानी सञ्चारमाध्यमहरूले इरान र ओमानबीच संयुक्त रूपमा जलमार्ग व्यवस्थापन गर्ने सहमति भएको दाबी गरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसलाई अस्वीकार गर्दै जलमार्ग खुला रहने बताएका छन्।
अमेरिकी सञ्चारमाध्यम एक्सियसका अनुसार अमेरिका र इरानबीच ६० दिने अस्थायी समझदारीको तयारी भइरहेको छ। प्रस्तावित समझदारीअनुसार हर्मुज जलडमरूमध्य शुल्कबिनै खुला राखिनेछ भने इरानले समुद्री बम हटाउनेछ।
यसको बदलामा अमेरिकाले केही आर्थिक प्रतिबन्ध खुकुलो बनाउने र इरानलाई तेल निर्यातमा सहजता दिने प्रस्ताव गरेको बताइएको छ।
समझदारीको मस्यौदामा इरानले आणविक हतियार नबनाउने, युरेनियम प्रशोधन कार्यक्रम सीमित गर्ने तथा अत्यधिक प्रशोधित युरेनियम हटाउने विषय पनि समावेश गरिएको जनाइएको छ।
यद्यपि पछिल्ला सैन्य कारबाहीका कारण वार्ताको भविष्य अन्योलमा पर्ने संकेत देखिएको विश्लेषण गरिएको छ।