राष्ट्रिय प्रजातन्त्र पार्टीले महानगरले लगाएको जरिवाना नतिर्ने

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ महानगरपालिकाले लगाएको एक लाख रुपैयाँ जरिबाना नतिर्ने निर्णय गरेको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठले महानगरले पूर्वाग्रही ढंगले जरिबाना लगाएको आरोप लगाउँदै मेयर बालेन शाह राप्रपा तथा राजसंस्थाप्रति वक्रदृष्टि राख्ने व्यक्तित्व भएको बताए।

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा राप्रपा नेतृत्वको उपस्थिति रहेको भए पनि पार्टीको झण्डा नफहराइएको श्रेष्ठको दाबी छ। उनले अन्य राजनीतिक समूहलाई कारबाही नगरिएको तर राप्रपालाई मात्र जरिबानाको निर्णय गरिएको भन्दै असन्तुष्टि जनाए।

काठमाडौँ महानगरपालिकाले विमानस्थल, तिलगंगा र गौशालामा फोहोर फैलाएको तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएको आरोपमा राप्रपालाई जरिबाना गर्ने निर्णय गरेको थियो। यसअघि नेकपा एमालेले पनि दरबारमार्गमा कार्यक्रम गर्दा महानगरले जरिबाना लगाएको थियो, जसलाई एमालेले अस्वीकार गरेको थियो।

प्रतिक्रिया