काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य गिरावटसहित बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ दशमलव ०५ अंकले घटेर २ हजार ६५० दशमलव ०९ बिन्दुमा झरेको हो। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ० दशमलव १५ प्रतिशत घटेको हो।
बिहीबार बजारमा कुल ३ अर्ब ७७ करोड ४३ लाख ६१ हजार ५४१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस दिन १ करोड ३ लाख १३ हजार ९७९ कित्ता सेयर कारोबारमा आएका छन्।
कारोबार अवधिमा बजारमा उतारचढाव देखिए पनि अन्त्यतिर नेप्से दबाबमा परेको थियो। कारोबारका क्रममा परिसूचक २ हजार ६५८ बिन्दुसम्म पुगे पनि अन्तिम समयमा घटेर २ हजार ६५० बिन्दुमा सीमित भएको हो।
बिहीबार कुल २७६ कम्पनीको सेयर कारोबार भएकामा ८६ कम्पनीको सेयर मूल्य बढेको छ। १८४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यससँगै बजारमा खरिदको तुलनामा बिक्री चाप केही बढी देखिएको छ। सामान्य गिरावट आए पनि कारोबार रकम ३ अर्ब ७७ करोड रुपैयाँभन्दा माथि रहँदा लगानीकर्ताको सहभागिता भने उल्लेख्य देखिएको छ।