काठमाडौँ – नेपाली संगीत क्षेत्रमा विरहका गीतमार्फत ख्याति कमाएका लोकप्रिय गायक तथा सर्जक कुशल बेलबासेको नयाँ गीत ‘छैन सुख भो’ सार्वजनिक भएको छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ। गीतले चौतर्फी चर्चा बटुलिरहेको छ।
उत्कृष्ट शब्द र सुमधुर लय सिर्जनासहित तयार पारिएको यस गीतले प्रेम र घरपरिवारबाट टाढा जाने युवाहरूको कथा प्रस्तुत गरेको छ। गीतको अडियो र भिडियो दुवै प्रभावकारी बनेका छन्।
कुशल बेलबासे र मेलिना राईको स्वर रहेको यस गीतमा सुन्दर हमालले शब्द रचना गरेका छन् भने गायक कुशल बेलबासेले स्वयं लय सिर्जना गरेका छन्। भिडियोमा सुनिल क्षेत्रीको निर्देशन तथा अभिनय देख्न सकिन्छ। अभिनयमा सञ्चिता शाही, स्नेशा जोशी, रमेश लामा र दुर्गा जोशीले साथ दिएका छन्।
गीतले दर्शकलाई भावुक बनाउन सफल हुनुका साथै संगीतप्रेमीहरूको मनमा गहिरो छाप छोडेको छ।