भारतलाई १३ अर्ब रुपैयाँको विद्युत् निर्यात

काठमाण्डौ – चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले भारतलाई १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् निर्यात गरेको छ। साउनदेखि मंसिरसम्म देशभित्र खपत नभएको एक अर्ब ७६ करोड युनिट विद्युत् भारतमा बिक्री गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

पाँच महिनामा भारतमा निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रुपैयाँ ३९ पैसा रहेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार यसबाट आठ अर्ब १५ करोड भारतीय रुपैयाँ आम्दानी भएको छ।

प्राधिकरणले प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता अन्तर्गत २८ आयोजना मार्फत उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्रीको स्वीकृति पाएको छ।

यस वर्ष झन्डै ३० अर्ब रुपैयाँको विद्युत् बिक्री गर्ने लक्ष्य राखिएको थियो। तर, असोज दोस्रो हप्तामा आएको बाढीले विभिन्न आयोजना र प्रशारण लाइनमा क्षति पुर्‍याएपछि लक्ष्य पुरा हुन सकेन।

हिउँदको मौसम सुरु भएसँगै विद्युत् उत्पादनमा कमी आएकाले भारतमा निर्यात रोकिएको र अहिले उल्टो छ सय मेगावाट बिजुली आयात भइरहेको प्राधिकरणले जानकारी दिएको छ।

हाल भारतले बढी माग हुने समयमा बिजुली उपलब्ध गराउन नसक्दा देशभित्र लोडसेडिङको समस्या देखिएको घिसिङले बताए।

प्रतिक्रिया