वैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८३ को नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरिएको हो। बोर्डका अनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
नतिजा सार्वजनिक भए पनि केही समयपछि मात्र वेबसाइटमार्फत हेर्न सकिने जनाइएको छ। यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो। परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले अघिल्ला वर्षको तुलनामा छिटो नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ।
यस वर्ष कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले परीक्षाका लागि फारम भरेका थिए। जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी थिए। सहभागीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेको बोर्डले जनाएको छ।