काठमाण्डौ । सामाजिक सुरक्षा भत्ता वितरणका लागि सरकारले ठुलो आर्थिक भारको सामना गरिरहेको छ। आर्थिक वर्ष २०७०/७१ मा १२ अर्ब ९९ करोड रूपैयाँ छुट्याइएकोमा, आव २०८०/८१ मा यो बढेर १ खर्ब ४२ अर्ब रूपैयाँ पुगेको छ। भत्ता वितरणको खर्च एक दशकमा ११ गुणाले वृद्धि भएको छ, जसले गर्दा राज्यको ढुकुटीमा ठूलो दबाब परेको छ।
राजनीतिक दलहरू बीच सस्तो लोकप्रियताको होडले सामाजिक सुरक्षा भत्ता लगातार बढ्दै गएको छ, र यो अब राज्यको राजस्वको एक चौथाइ नजिक पुगेको छ। न्यून आर्थिक अवस्थाका ज्येष्ठ नागरिकलाई यो भत्ता वितरण गर्नु राज्यको दायित्व भए पनि सम्पन्न व्यक्तिहरूले समेत यो सुविधा लिइरहेकोले दोहोरो सुविधा वितरणको समस्या देखिएको छ।
सामाजिक सुरक्षा भत्ताका अतिरिक्त, अन्य सामाजिक सुरक्षाका कार्यक्रमहरूमा समेत ठुलो खर्च भइरहेको छ। चालु आव २०८१/८२ मा संघीय सरकारले सामाजिक सुरक्षाका लागि कुल बजेटको करिब १५ प्रतिशत अर्थात् २ खर्ब ९८ अर्ब ५७ करोड १९ लाख रूपैयाँ विनियोजन गरेको छ। आजको नागरिक दैनिकबाट