काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा आयात र निर्यात दुवैमा वृद्धि भएको छ। आयातमा ११.४२ प्रतिशतले वृद्धि हुँदा निर्यात झण्डै दोब्बरले बढेर ९५.५७ प्रतिशतले पुगेको छ।
गत वर्ष साउन महिनामा १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको थियो भने यस वर्ष त्यही अवधिमा बढेर १ खर्ब ४३ अर्ब पुगेको छ। त्यस्तै, गत वर्ष साउनमा १२ अर्ब २२ करोड रुपैयाँको सामान निर्यात भएकोमा यस वर्ष त्यही महिना नाघेर २३ अर्ब ९३ करोड पुगेको छ।
आयात हुने प्रमुख वस्तुमा भट्मासको तेल मात्रै १० अर्ब ८० करोडको छ। पेट्रोल ५ अर्ब ७७ करोड, डिजेल ५ अर्ब ८८ करोड र खाना पकाउने ग्यास ४ अर्ब ६६ करोड रुपैयाँ बराबर आयात भएको छ। त्यस्तै, रासायनिक मल ४ अर्ब ६५ करोड र फटिलाइजर ग्रेड मल २ अर्ब ३० करोड रुपैयाँ मूल्य बराबर आयात भएको छ। यस अवधिमा ३ अर्ब ४१ करोड रुपैयाँ बराबरका १ लाख ९८ हजार थान स्मार्टफोन समेत भित्रिएका छन्।
निर्याततर्फ पनि भट्मासको तेल प्रमुख रहेको छ। पहिलो महिनामै १० अर्ब ६९ करोड रुपैयाँको भट्मास तेल बाहिरिएको छ। साथै ३७ करोडको चिया, ६ करोड ७१ लाखको पाम तेल, ६ करोड ५१ लाखको सूर्यमुखी तेल, ३४ करोडको भिनियर र ८२ करोड रुपैयाँ बराबरको कार्पेट निर्यात भएको तथ्याङ्कले देखाएको छ।