देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालका तराई भूभाग नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार हाल देशभर सामान्यतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग र मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। कर्णालीका पहाडी भूभाग तथा सुदूरपश्चिमका पहाडी र तराई भूभागका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभाग, कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग, मधेस प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग र मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

कर्णाली प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने विभागले जनाएको छ। भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय