निर्वाचन आयोगमा दलको संख्या १२४

काठमाडौं । निर्वाचन आयोगमा हालसम्म १२४ राजनीतिक दल दर्ता भएका छन् भने थप १७ दलले दर्ताका लागि निवेदन दिएका छन्। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार ती सबै निवेदन अध्ययनको चरणमा रहेका छन्।

 

जेनजी आन्दोलनअघि दश दलले दर्ता निवेदन दिएका थिए भने आन्दोलनपछि सात दलले थप निवेदन दिएका हुन्। सबै निवेदन स्वीकृत भएमा देशमा दलको संख्या अझै बढ्नेछ।

 

हालसम्म जनमत पार्टी फुटेर जनस्वराज पार्टी र नेपाल जनमुक्ति पार्टी फुटेर अर्को नयाँ दल दर्ता भएका छन्।

 

आयोगले केही दलको विधान र सदस्य संख्या अपूरो रहेको भन्दै स्पष्टता मागेको छ। त्यस्तै, केही दलले प्रस्ताव गरेको चुनाव चिन्ह परिवर्तन गर्न पनि आयोगले सुझाव दिएको छ।

 

राष्ट्रिय जेनजी पार्टी नेपालले ‘क्रस खुकुरी’ चिन्ह मागे पनि आयोगले सो चिन्ह फेर्न भनेको छ। राष्ट्रिय परिवर्तन पार्टी बाँसुरी चिन्हसहित दर्ता प्रक्रियामा रहेको छ।

 

त्यसैगरी, नेपाल लिबरल पार्टी (अध्यक्ष गोपीलाल न्यौपाने) ले सिक्का चिन्ह प्रस्ताव गर्दै दर्ता निवेदन दिएको छ। श्रम संस्कृति पार्टी (अध्यक्ष धरानका मेयर हर्क साम्पाङ) र गतिशील लोकतान्त्रिक पार्टी (अध्यक्ष दिनेश प्रसाईं) समेत आयोगमा दर्ता प्रक्रियामा छन्।

 

आयोगले सबै दलको विवरण अध्ययन गरिरहेको र आवश्यक मापदण्ड पूरा गर्ने दललाई दर्ता प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रतिक्रिया