रिलायन्स स्पिनिङ मिल्सको आईपीओ सर्वसाधारणका लागि खुला

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आज पुस ७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट सम्पन्न गरिसकेपछि अब सर्वसाधारणका लागि आईपीओ ल्याएको हो।

कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याइएको साधारण सेयरमध्ये ५७ हजार ७९८ कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ९ लाख २४ हजार ७६८ कित्ता साधारण सेयर सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो। कम्पनीको प्रतिकित्ता सेयरको अंकित मूल्य १०० रुपैयाँ भए पनि बुक बिल्डिङ प्रक्रियाबाट प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा सेयर बिक्री हुन लागेको छ।

बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार बोलकबोल प्रणालीमार्फत आवेदन दिएका योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण गरिएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट प्रदान गर्दा सर्वसाधारणका लागि प्रतिकित्ता सेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो।

लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म सेयरका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन छिटोमा पुस ११ गते बन्द हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्कासन अवधि पुस २१ गतेसम्म थपिनेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङद्वारा सञ्चालित ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यस रेटिङले कम्पनीले आफ्ना वित्तीय दायित्वहरू समयमै सुरक्षित रूपमा बहन गर्न सक्ने पर्याप्त क्षमता रहेको संकेत गर्छ।

रिलायन्स स्पिनिङ मिल नेपालका धागो उत्पादन गर्ने उद्योगहरूमध्ये ठूलो रोजगारदाता उद्योगका रूपमा चिनिन्छ। कम्पनीले उत्पादन गर्ने कुल उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी भारत, टर्की, भियतनाम, यूकेलगायत विभिन्न मुलुकहरूमा निर्यात गर्दै आएको छ। कम्पनीका अध्यक्ष पवन कुमार गोल्याण तथा प्रबन्ध सञ्चालक अक्षय गोल्याण रहेका छन्। यसको मुख्य उद्योग सुनसरीको ईटहरी नगरपालिका–१२ खनारमा रहेको छ भने शाखा उद्योग ईटहरी नगरपालिका–४ दुहबीमा सञ्चालनमा छ।

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.७५ वर्ष रहेको छ भने डिस्काउण्टमा गणना गर्दा लगानी फिर्ता हुने अवधि १०.६१ वर्ष रहेको छ।

प्रतिक्रिया