मौलिक संस्कृति संरक्षणको सन्देश बोकेको ‘रेलिमै’ सार्वजनिक

म्याग्दी । मगर समुदायको प्रचलित मौलिक शिरफुले भाका ‘रेलिमै’ मा आधारित म्युजिक भिडिओ सार्वजनिक गरिएको छ। मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त म्युजिक भिडिओ शनिबार गायक तथा सारङ्गी वादक हेमन्त कान्छा रसाइलीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट निवासी तथा हाल अमरज्योति माध्यमिक विद्यालयमा अध्यापनरत तुलप्रसाद पुन (नयन बाबु)को प्रस्तुतिमा निर्माण भएको गीतमा निर्माता पुन र गायक रसाइलीकै शब्द तथा लय रहेको छ।

गीतमा हेमन्त कान्छा रसाइली, कृष्ण परियार, गीता पाइजा, सुमन थापा र अमृता लामिछानेले स्वर दिएका छन्। मौलिक भाका र संस्कृति झल्काउने गीतले मगर समुदायको सांस्कृतिक पहिचानलाई उजागर गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।

मालिका गाउँपालिकाको वडा नम्बर ४ अन्तर्गत पर्ने पर्यटकीय स्थल सोलेडाँडा, ओखरबोट तथा आसपासका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको भिडिओको निर्देशन समेत गायक हेमन्त कान्छा रसाइलीले गरेका छन्।

भिडिओमा स्वयं गायक रसाइली, निर्माणकर्ता तुलप्रसाद पुन तथा कलाकारहरू पविता पुन, नवीन मगर, सुष्मा बुढाथोकी, करुणा बुढालगायतको अभिनय रहेको छ।

मौलिक संस्कृति र स्थानीय पहिचानलाई समेटिएको ‘रेलिमै’ म्युजिक भिडिओले मगर समुदायको सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासम्म पुर्‍याउने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय