symbolic photo
जाजरकोट । अविरल वर्षापछि आएको बाढी र कटानले जाजरकोटको नलगाड नगरपालिका–१० रोलीमा दुई घर बगाएको छ भने थप दुई घर उच्च जोखिममा परेका छन्। बाढीले झोलुङ्गे पुलमा क्षति पुर्याएपछि स्थानीयको पैदल आवागमनसमेत प्रभावित भएको छ। भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पनि अवरुद्ध भएको छ।
गएरातिदेखि परेको लगातारको वर्षाका कारण नलगाड–१० स्थित तासुघाट खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको हो। सडकको वैकल्पिक मार्गसमेत नभएकाले यात्रु तथा स्थानीयवासी समस्यामा परेका छन्।
बाढीले रोलीस्थित झोलुङ्गे पुलको पश्चिमतर्फको भाग बगाएपछि पैदल आवागमन ठप्प भएको इलाका प्रहरी कार्यालय रग्दाले जनाएको छ।
बाढीका कारण रोली निवासी पृथ्वीबहादुर विकको दुईतले ढुङ्गा–माटोले बनेको तथा ढुङ्गाले छाएको घर पूर्ण रूपमा बगेको छ। उक्त घरमा नौ जना परिवारका सदस्य बस्दै आएका थिए। घर बगेपछि उनीहरू सबैलाई सुरक्षित स्थानमा सारिएको छ।
त्यस्तै, खैते विकको दुईतले ढुङ्गा–माटोले बनेको तथा ढुङ्गाले छाएको घर पनि बाढीको उच्च जोखिममा परेको छ। उक्त घरमा रहेका १० जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
यसैगरी नरबहादुर विकको तीनतले ढुङ्गा–माटोले बनेको तथा ढुङ्गाले छाएको घर र हस्त विकको दुईतले ढुङ्गा–माटोले बनेको टिनले छाएको घरसमेत बाढी तथा कटानको जोखिममा परेका छन्। नरबहादुरको परिवारका १० जना र हस्त विकको परिवारका आठ जनालाई पनि सुरक्षित स्थानमा सारिएको छ।
बाढी तथा कटानका कारण प्रभावित चार घरपरिवारका ३७ जनालाई सुरक्षित स्थानमा सारिएको छ। हालसम्म घटनामा मानवीय क्षति भने भएको छैन।
घटनाको जानकारी प्राप्त भएपछि बिहान साढे ६ बजे इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक दिनेश सुनारको कमाण्डमा चार सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले क्षतिको विवरण संकलन गर्नुका साथै स्थानीयलाई आवश्यक सहयोग गरिरहेको प्रहरीले जनाएको छ।
लगातार वर्षा भइरहेकाले थप क्षतिको सम्भावना रहेको स्थानीयले बताएका छन्। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्न तथा अवरुद्ध सडक तत्काल खुलाउन स्थानीयवासीले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
प्रहरी तथा स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र जोखिमको अवस्था देखिए तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ।