काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ बाँडफाँट सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्तालाई शेयर निष्काशन गरेको हो।
कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १ करोड कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँट भइसकेको छ। दोस्रो चरणमा कम्पनीले ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ८२ लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो, जसको कुल मूल्य ८२ करोड रुपैयाँ रहेको छ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा माघ ४ गते र ढिलोमा माघ १४ गते बन्द हुने कम्पनीले जनाएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालबाट कम्पनीले आइआरएन डबल बी इस्यूअर रेटिङ प्राप्त गरेको छ, जसले दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।
सोलु हाइड्रोपावरले निर्माण गरिरहेको ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत आयोजनाको अनुमानित लागत १६ अर्ब ३० करोड रुपैयाँभन्दा बढी रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड ८८ लाख रुपैयाँ रहेको छ भने विद्युत उत्पादन अनुमतिपत्रको अवधि २५ वर्ष बाँकी छ। आयोजनामा लगानी फिर्ता हुने औसत अवधि ७.६८ वर्ष र डिस्काउण्टमा १२.०९ वर्ष रहेको कम्पनीले जनाएको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।