आन्दोलनको छायामा दशैं गीत, कलाकारहरु दोधारमा

काठमाण्डौ । देशभरको आन्दोलनले दशैं गीत सार्वजनिक गर्ने क्रममा ठूलो असर पारेको छ । तीज सकिएलगत्तै दशैं विशेष गीत सार्वजनिक हुने परम्परा भए पनि आन्दोलनका कारण यसपटक सांगीतिक गतिविधि ठप्प बनेको छ ।

यो वर्ष एक सयभन्दा बढी दशैं गीत सार्वजनिक हुने अनुमान गरिएको थियो, तर अहिलेसम्म खासै नयाँ गीत बजारमा आएका छैनन् । केही कलाकारहरूले पुराना गीतलाई पुनः सार्वजनिक गरेका छन् भने लोकप्रिय गायिका विष्णु माझीको आधिकारिक युट्युब च्यानलबाट पनि पुरानै गीत राखिएको छ ।

दशैं गीतको क्षेत्रमा अग्रस्थानमा रहेका गायक विष्णु खत्रीले पनि नयाँ गीत तयार पारेका छन् । तर अहिलेको परिस्थितिमा सार्वजनिक गर्ने वा नगर्ने भन्ने दोधारमा छन् । उनले यस विषयमा आफ्ना दर्शकसँग सामाजिक सञ्जालमार्फत राय मागेका छन् । त्यस्तै, गायक हेमन्त खड्काले पनि तयारी अवस्थामा रहेको गीत यसवर्ष सार्वजनिक नगर्ने सम्भावना रहेको बताएका छन् ।

गायक राजन कार्कीले समेत अहिले गीत निकाल्नु उपयुक्त नहुने बताएका छन् । उनका अनुसार यस्तो समयमा गीत सार्वजनिक गर्नु मानवीय दृष्टिले उचित हुँदैन । कलाकारहरूका गीतमा ठूलो लगानी हुने भएकाले परिस्थितिले साथ नदिए स्टेज कार्यक्रमहरू समेत प्रभावित हुने देखिन्छ । यही कारण अहिले धेरै कलाकारहरू देशको माहोल सामान्य होस् भन्ने प्रतीक्षामा छन् ।

प्रतिक्रिया