काठमाडाैं - मनसुन प्रवेशसँगै कोसी प्रदेशमा लगातार परेको भारी वर्षाले कोसी राजमार्गका विभिन्न स्थानमा सडक आवागमन अवरुद्ध भएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खस्नु, बाढी आउनु र रुख ढल्नुजस्ता घटनाले राजमार्गका सडकहरूमा यातायात ठप्प भएको हो।
धरानबाट भेडेटारतर्फ जाने सडक खण्डमा रुख ढलेपछि आवागमन बन्द भएको छ। यद्यपि रुख हटाउने प्रयास भइरहे पनि साँगुरीगढी गाउँपालिका–६ स्थित लेउती खोलाले सडक कटान गरी बगाएको प्रहरीले जनाएको छ। खोलाको बाढीले करिब १०० मिटरभन्दा बढी सडक बगाएको छ, जसका कारण धरान–धनकुटा सडक सम्पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार नमस्ते झरनाको छेउमा रुख ढलेको छ भने अन्य स्थानमा पहिरोसमेत खसेको छ। भेडेटार क्षेत्रमा खसेको पहिरोपछि प्रहरी निरीक्षक रमेश प्रधानको नेतृत्वमा प्रहरी टोली र नेपाली सेना परिचालित गरिएको छ। अहिले सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।