कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको छ। कोलम्बिया को प्युर्टो लेगुइजामो क्षेत्रमा कोलम्बियाली वायुसेना को विमान दुर्घटनाग्रस्त भएको हो।
समाचार संस्था रोयटर्स का अनुसार १२५ जना सवार विमान उडान भरेको केही समयमै दुर्घटनामा परेको थियो, जसमा कम्तीमा ३४ जनाको मृत्यु भएको पुष्टि भएको छ। विमानमा ११० सैनिक र ११ जना चालक दलका सदस्य रहेका थिए।
दुर्घटनाग्रस्त विमान सी-१३० हर्कुलस रहेको जनाइएको छ, जुन पुटुमायो क्षेत्रमा सेना ढुवानी गरिरहेको थियो। दुर्घटनापछि कम्तीमा ७७ जनालाई घाइते अवस्थामा उद्धार गरिएको वायुसेनाले जनाएको छ।
अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने भन्दै अन्तिम विवरण संकलन भइरहेको बताएका छन्। यस घटनाप्रति गुस्ताभो पेट्रो ले गहिरो दुःख व्यक्त गरेका छन्।
राष्ट्रपति पेट्रोले सैन्य उपकरण र स्रोतसाधन आधुनिकीकरण गर्ने योजना भए पनि प्रशासनिक ढिलाइका कारण कार्यान्वयन हुन नसकेको स्वीकार गरेका छन्।
सी-१३० हर्कुलस विश्वकै भरपर्दो सैन्य यातायात विमानमध्ये एक मानिन्छ, जसले कठिन भौगोलिक अवस्थामा पनि सैनिक, हतियार तथा राहत सामग्री ढुवानी गर्न सक्षम हुन्छ।