काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक सबै सामग्री सम्बन्धित जिल्लाहरूमा पठाइसकिएको छ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार, गत वर्षको तुलनामा परीक्षार्थीको संख्या ४९ हजार २८६ ले वृद्धि भई कुल ५ लाख १४ हजार ७१ जना पुगेका छन्। यस पटक देशभर २,०७९ परीक्षा केन्द्र तोकिएको छ। परीक्षार्थी संख्याका आधारमा प्रत्येक केन्द्रमा निरीक्षक र सहायक केन्द्राध्यक्ष नियुक्त गरिनेछ भने ७५ जना भन्दा कम परीक्षार्थी भएका केन्द्रमा सहायक केन्द्राध्यक्ष नरहने व्यवस्था मिलाइएको छ।
विशेष व्यवस्थाअन्तर्गत यस वर्ष काठमाडौँ र दैलेखका कारागार तथा भक्तपुरको बाल सुधार गृहका विद्यार्थीले पनि परीक्षा दिन पाउनेछन्। साथै, कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनका चार जना एचआईभी संक्रमित विद्यार्थीले परीक्षा दिन लागेका छन्।
एसईई परीक्षा चैत ७ देखि १९ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ। पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषा परीक्षा हुनेछ। चैत ८ गते अनिवार्य नेपाली, चैत १० गते गणित, चैत १२ गते विज्ञान तथा प्रविधि, चैत १३ गते सामाजिक विषय तथा चैत १४ र १५ गते ऐच्छिक विषयको परीक्षा सञ्चालन गरिनेछ।
यस पटक पनि परीक्षा नतिजा लेटर ग्रेडिङ प्रणालीमै प्रकाशित गरिनेछ। परीक्षा नियन्त्रण कार्यालयले यस वर्ष उत्तीर्ण दर ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ, जबकि गत वर्ष मात्र ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।