काठमाडौं । प्रभु बैंक लिमिटेड ले “ग्लोबल मनी वीक–२०२६” अन्तर्गत सञ्चालन गरेको वित्तीय साक्षरता अभियान सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। “Smart Money Talks” भन्ने मूल नारासहित बैंकले चैत ४ देखि चैत १० गतेसम्म सातै प्रदेशका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरेको हो।
बैंकका अनुसार अभियानमार्फत २०० भन्दा बढी शाखामार्फत विभिन्न समुदाय, विद्यालय तथा कलेजमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा विशेषगरी बालबालिका, महिला तथा युवाहरूलाई लक्षित गर्दै बचत, ऋण, लगानी, डिजिटल बैंकिङ सेवा र सुरक्षित वित्तीय व्यवहारबारे जानकारी दिइएको थियो।
यस अभियान अन्तर्गत सहभागीहरूलाई डिजिटल ठगीबाट जोगिने उपाय, अनलाइन बैंकिङको सुरक्षित प्रयोग, व्यक्तिगत वित्तीय व्यवस्थापन तथा बैंकिङ सेवाको सही उपयोगबारे पनि सचेतना प्रदान गरिएको बैंकले जनाएको छ।
प्रदेशगत रूपमा हेर्दा वाग्मती प्रदेशका ४७, गण्डकीका ५२, लुम्बिनीका ९६, कोशीका ३९, मधेशका २९, कर्णालीका १४ र सुदूरपश्चिमका १९ शाखामार्फत कार्यक्रम सञ्चालन गरिएको थियो।
प्रभु बैंकले हाल देशभर ३१२ शाखा, ७५ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ। “विश्वास लिन्छौं, विश्वास दिन्छौं” भन्ने मूल नारासहित बैंकले आधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा विस्तार गर्दै आएको जनाएको छ।