काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको बताएका छन्। मतदान सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण पक्षलाई उनले धन्यवाद व्यक्त गरेका छन्।
गृहमन्त्री अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलको निर्देशन तथा प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सबै निकायको समन्वय र सहकार्यका कारण देशभर एकै चरणमा मतदान सम्पन्न भएको उल्लेख गरे। प्रधानमन्त्रीको चाहना अनुसार ‘एक थोपा रगत नबगी’ निर्वाचन सम्पन्न भएको उनले बताएका छन्। लोकतान्त्रिक अभ्यासका रूपमा निर्वाचनमार्फत जनादेश प्राप्त गर्नु संवैधानिक र कानुनी दृष्टिले महत्वपूर्ण प्रक्रिया भएको उनको भनाइ छ।
निर्वाचन प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने मतदाता, उम्मेदवार, राजनीतिक दलका नेता–कार्यकर्ता, निजामती कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय पर्यवेक्षकप्रति उनले आभार व्यक्त गरेका छन्। साथै मतदानपछि सुरु हुने मतगणनाको कार्यलाई पनि शान्तिपूर्ण र व्यवस्थित बनाउन सबै सरोकारवालाई सकारात्मक सहयोग गर्न उनले आग्रह गरेका छन्।
गृहमन्त्री अर्यालले मतदाताहरूको उत्साहपूर्ण सहभागिताले लोकतन्त्रप्रतिको विश्वास र प्रतिबद्धता स्पष्ट भएको उल्लेख गर्दै मतदानमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्ने सबै नागरिकप्रति सम्मान व्यक्त गरेका छन्।