राष्ट्र बैंकले लगायो आयातमा लगाम

काठमाडौं - तरलता अभाव सहज बनाउन रास्ट्र बैंकले विदेशबाट समान आयातमा कडाइ गरेको छ । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि यस्तो व्यवस्था लागू गरिएको हो । 

आयातमा कडाइ गरिएको वस्तुहरूमा चकलेट, चुइगम, इनर्जी ड्रिङ्क, चुरोट, अत्तर, शृङ्गार सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री/फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट/भान्छाकोठाका सामग्री, चाँदी, फलामका फर्निचर र प्लास्टिकका फर्निचर आयात गर्न बैंकमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो । केन्द्रीय बैंकले आयातमा मार्जिन व्यवस्थासम्बन्धी एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य मार्जिन राख्नुपर्ने व्यवस्था गरिदिएको छ । अब विदेशबाट सामान आयात गर्नेहरूले त्यसअघि नै रकम जम्मा गर्नुपर्नेछ । त्यस्तो प्रयोजनका लागि बैंकहरूले स्वदेशी मुद्रामा कर्जा प्रवाह गर्न पनि नपाउने भएका छन् । यसअघि एलसीका लागि मार्जिन राख्ने/नराख्ने निर्णय बैंकहरूले नै गर्ने गरेका थिए । 

सरकारी निकाय, कूटनीतिक नियोग र अस्पतालका लागि आवश्यक सामान, औद्योगिक कच्चापदार्थ, औषधिजन्य प्रयोजनका सामग्री, विद्युतीय र शारीरिक अशक्त व्यक्तिले चलाउने मोटरसाइकल तथा स्कुटर र विद्युतीय सवारी आयात गर्न भने मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छैन । 

तरलता अभाव भोगिरहेको अर्थाथन्त्रलाई यस्तो कडाइले केही राहत हुने विश्वास सरोकारवालाहरुको छ । यसको प्रभाव शेयर बजारमा पनि पर्ने देखिन्छ । निरन्तर ओरालो लागिरहेको बजारलाई अब केही राहत हुने जानकारहरूको बुझाइ छ । 

प्रतिक्रिया