नेप्से २५७६ अंकमा, कारोबार रकम ८ अर्ब नाघ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। लगातार चार कारोबार दिन ओरालो लागेको बजार मंगलबार ६.११ अंकले बढ्दै २५७६.२९ विन्दुमा पुगेको हो।

यस दिन सेन्सेटिभ इन्डेक्स ०.७९ अंक, फ्लोट इन्डेक्स ०.३२ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२० अंकले वृद्धि भएका छन्।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। सोमबार ७ अर्ब ४६ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा मंगलबार ३८३ कम्पनीका १ करोड ८२ लाख ९३ हजार कित्ता शेयर ५३ हजार ८५४ पटक किनबेच हुँदा कुल ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार रुपैयाँबराबरको कारोबार भएको छ। ऋणपत्रको उच्च कारोबारका कारण कुल कारोबार रकममा वृद्धि भएको हो।

मूल्य वृद्धितर्फ ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७ सबैभन्दा अगाडि रह्यो। उक्त ऋणपत्रको मूल्य १०.२२ प्रतिशतले बढेको छ। सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ करिब १० प्रतिशतले बढ्दा उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

यता, ७ प्रतिशत नेपाल एसबीआई डिबेञ्चर २०९० को मूल्य ९.६८ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावट आउने साधन बनेको छ।

कारोबार रकमका आधारमा शीर्ष १० मध्ये ९ स्थान ऋणपत्रले ओगटेका छन्। १० प्रतिशत केबीएल डिबेञ्चर २०९० को ५२ करोड ७१ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै, १० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९० को ३९ करोड रुपैयाँभन्दा बढी, ७ प्रतिशत नेपाल एसबीआई बैंक डिबेञ्चरको ३७ करोड ५० लाख रुपैयाँभन्दा बढी तथा एभरेष्ट बैंक लिमिटेड डिबेञ्चरको ३६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

उपसमूहगत रूपमा १३ मध्ये १२ उपसमूहका परिसूचक बढेका छन्। व्यापार उपसमूह सबैभन्दा धेरै १.४७ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन उपसमूह भने ०.१८ प्रतिशतले घटेको एकमात्र उपसमूह बनेको छ।

प्रतिक्रिया