काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ७.०१ अङ्कले उक्लँदै २६९६.२३ विन्दुमा पुगेको छ।
बुधबारको कारोबारी दिन ३२९ वटा कम्पनीका १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयरहरू ६४ हजार ३६० पटक किनबेच हुँदा कारोबार रकम ७ अर्ब २६ करोड ५१ लाख २२ हजार २ सय ४१ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ।
उपसमूहतर्फ केही सूचकहरूमा गिरावट देखिएको छ। वित्त समूह ०.६७, होटल तथा पर्यटन ०.१६, लगानी ०.३५, उत्पादन तथा प्रशोधन ०.१६, लघुवित्त ०.०६ र अन्य समूह १.०७ प्रतिशतले घटेका छन्। बाँकी सबै समूहमा हरियो बत्ती देखिएको छ।
उल्लेख्य रूपमा, जलविद्युत् समूह १.६३ र विकास बैंक समूह १.११ प्रतिशतले अगाडि बढेका छन्। बैंकिङ ०.३९, जीवन बिमा ०.०५, म्युचुअल फण्ड ०.३६, निर्जीवन बिमा ०.५५ र व्यापार समूह ०.११ प्रतिशतले बढेका छन्।
आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र बलेफी हाइड्रोपावर लिमिटेडका सेयरहरूमा सकारात्मक सर्किट लागेको छ। यता, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.८१ प्रतिशतले घटेर सबैभन्दा बढी गिरावट देखिएको छ।
कारोबार रकम र सेयर सङ्ख्याका आधारमा ङादी ग्रुप पावर लिमिटेड अग्रस्थानमा रह्यो। यस कम्पनीका १९ लाख ५० हजार ८०६ कित्ता सेयर किनबेच भई ५९ करोड ४१ लाख ५३ हजार ९६० रुपैयाँ बराबरको कारोबार भएको हो।