एक अर्ब लगानीमा गुण एयरलाइन्स सञ्चालन, आजबाट उडान सुरु


काठमाडौं– करिव एक अर्ब रुपैयाँ लगानी गरेर गुण एयरलाइन्स पुन सञ्चालनमा आएको छ । गुणले शुक्रबार पहिलो उडान काठमाडौं–भरतपुर गरेको छ । 
हालका लागि दुई वटा विचक्राफ्टमार्फत नियमित उडान सुरु गरिएको हो । पाँचवटा जेटस्ट्रिम जहाजमार्फत उडान अनुमति पाएसँगै उडान संख्या गन्तव्य विस्तार गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत वालकृष्ण श्रेष्ठले बताए ।


गुणले पोखरा उडानका लागि सुरुवाती भाडादर २८ सय र भरतपुरका लागि २९ सय रुपैयाँ निर्धारण गरेको छ । यतीसँग खरिद गरेको पाँचवटा जहाज प्राप्ति गरेसँगै कम्पनीसँग भएको दुई बिचक्राफ्टसहित जहाज संख्या सात पुगेको छ । सातैवटा जहाजमार्फत विराटनगर, भैरहवा, नेपालगञ्ज, सुर्खेत, जनकपुर, सिमरा र तुम्लिङटारतर्फ नियमित उडान गर्ने योजना छ । कम्पनीले दुई वर्षभित्र नौवटा जहाजमार्फत सेवा दिने व्यवसायिक योजना बनाएको छ । दुईवटा ट्विनअटर सिरिजका जहाज थप्ने पनि योजना बनाएको छ ।


कम्पनीले यति एयरलाइन्ससँग विमान खरिद गर्दा प्रतिविमान १.२ मिलियन अमेरिकी डलर अर्थात् १४ करोड रुपैयाँ खर्च गरेको छ । यसरी हेर्दा ५ वटा विमानका लागि मात्रै कम्पनीले ७० करोड रुपैयाँ खर्च गरेको छ । कम्पनीले विमानबाहेक पाटपुर्जा पनि किन्दैछ । विमानका लागि मात्रै ६० देखि ७० करोड रुपैयाँ र स्पेयर पार्टससँगै अन्य पूर्वाधार तथा व्यवस्थापनमा गरी १०० करोड रुपैयाँ लगानी थपिने कम्पनीका अध्यक्ष राजेन्द्र शाक्यका बताए ।
१७ मे २००९ मा पहिलो पटक गुण एयरलाइन्स नेपाली आकाशमा उडान भरेको थियो । गुण एयरलाइन्सका नामबाट सन् २०१३ सम्म २ वटा विमान निरन्तर नेपाली आकाशमा उडिरहेका थिए । त्यसपछि बन्द भएको हो ।
 

प्रतिक्रिया