जसपाले ओली सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता गर्ने निर्णय गरेको हो।

सरकारमा सहभागी हुने चर्चा चलिरहेका बेला जसपाले समर्थन फिर्ता लिएको हो। दुई दिनअघि मात्रै प्रधानमन्त्री ओलीले जसपा अध्यक्ष यादवसहित सत्तारुढ दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए। सो भेटमा जसपालाई सरकारमा सहभागी गराउने प्रस्ताव राखिएको चर्चा चलेको थियो।

एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले हालै मात्र एक वर्ष पूरा गरेको छ। यसअघि नागरिक उन्मुक्ति पार्टीले पनि ओली सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। सो पार्टीबाट सरकारमा सहभागी पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले राजीनामा दिइसकेका छन्, तर प्रधानमन्त्री ओलीले राजीनामा स्वीकृत गरेका छैनन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग छलफल गर्दै पुनः सरकारमा सहभागी गराउने प्रयास गरिरहेका छन्।

प्रतिक्रिया