कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ६ विकेटको सहज जित निकाल्दै श्रृङ्खलामा दोस्रो सफलता हासिल गरेको हो। यससँगै नेपाल २७ खेलबाट २२ अंक जोड्दै अंकतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।
नेपालको जितमा सन्दीप लामिछाने र ललित राजवंशीको स्पिन आक्रमण निर्णायक बन्यो। दुवैले मिलेर ७ विकेट लिए, जसमा सन्दीपले ३ विकेट हात पारे। यही प्रदर्शनसँगै सन्दीपले ७३ खेलमै १५० विकेट पूरा गर्दै अस्ट्रेलियाका मिचेल स्टार्कको कीर्तिमान तोडेका छन्, जसले उक्त उपलब्धि ७७ खेलमा हासिल गरेका थिए।
स्कटल्याण्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। ओपनर आसिफ शेख (२९) र कुशल भुर्तेल (२८) ले सुरुआत दिलाए पनि दुवै छिट्टै आउट भए। त्यसपछि कप्तान रोहितकुमार पौडेल र ईशान पाण्डेले तेस्रो विकेटका लागि १०४ रनको साझेदारी गर्दै खेल नेपालको पक्षमा मोडे।
ईशानले ६१ बलमा ५५ रन बनाउँदै दोस्रो एकदिवसीयमै अर्धशतक पूरा गरे भने रोहितले ९८ बलमा ७४ रनको संयमित इनिङ खेले। अन्त्यतिर आरिफ शेख (८) सँग मिलेर रोहितले अविजित साझेदारी गर्दै नेपाललाई जित दिलाए।
यसअघि टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड ३९.१ ओभरमा १९४ रनमै अलआउट भयो। ब्रेन्डन म्याकमुलनले ७३ रन बनाए पनि अन्य ब्याटरले साथ दिन सकेनन्। नेपालका लागि ललित राजवंशीले ४ विकेट लिए भने सन्दीपले ३ विकेट लिए। नन्दन यादव, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए।
नेपालले अब श्रृङ्खलाको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्नेछ।