काठमाडौं – ट्रेड टावर लिमिटेडले आगामी २०८२ साल बैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ।
कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासन गर्ने अनुमति प्राप्त गरिसकेको छ।
यस अन्तर्गत पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ९७ हजार १६९ कित्ता शेयर (३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबर) निष्कासन गर्न लागेको हो।
आईपीओमा सहभागी हुन न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद बैशाख २२ गतेसम्म तोकिएको छ।
शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा तथा ‘मेरो शेयर’ सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
आईपीओ निष्कासनका लागि गरिएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले ट्रेड टावर लिमिटेडलाई “ICRANP-IR BB-” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।