यो लोडसेडिङ हुँदै होइन – हितेन्द्र शाक्य

काठमाडौँ — हिजो साँझ काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको घटनापछि नेपाल विद्युत् प्राधिकरणले त्यसको मुख्य कारण प्राविधिक समस्या रहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार नेपाल अहिले भारतको प्रणालीमा ठूलो हदसम्म निर्भर रहेको र सोही कारण विद्युत् आपूर्ति प्रभावित भएको हो। माघ महिनाको मध्यदेखि जेठको पहिलो साता सम्मको अवधिमा नेपाल भारतको विद्युत् प्रणालीमा भर पर्ने स्थिति देखिएको बताइएको छ।

बिजुली अवरोधको घटनाबारे जानकारी दिँदै प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन साँझ ८ बजे पुनः सुचारु भएपछि अन्य पावरहाउसहरुलाई क्रमशः सिन्क्रोनाइज गरेर कुलोखानी, मर्स्याङ्दी, अपर तामाकोसीजस्ता जलविद्युत् आयोजना सञ्चालनमा ल्याइएकाले सवा ८ बजेपछि मात्र विद्युत् आपूर्ति पुनः सुरु भएको बताएको छ। जोखिम न्यूनीकरणका लागि बालाजु, पाटन, चपलीलगायतका क्षेत्रका लोडलाई केही ढिला गरेर प्रणालीमा जोडिएको थियो।

प्राधिकरणका अनुसार चक्रवातका कारण एकैपटक हावाहुरी चलेपछि ढल्केबर–पश्चिमतिर र ढल्केबर–मुजफ्फरपुर (भारत) दुबै सर्किट ट्रिप भएका थिए। यस्तो एकसाथ प्रणालीबाट बहिर्गमन भएको अवस्था बिरलै देखिन्छ। साथै जलवायु परिवर्तनका कारण केही साना क्षेत्रमा हावाहुरी र वर्षाको तीव्रता बढेको पनि जनाइएको छ, जसले प्रणालीलाई थप चुनौती दिएको छ।

केही घण्टाको विद्युत् अवरोधलाई कतिपयले लोडसडिङको रूपमा बुझे पनि प्राधिकरणले यसलाई स्पष्टतः अस्वीकार गर्दै यो प्राविधिक समस्या मात्र भएको जनाएको छ। सामाजिक सञ्जालमा इन्भर्टर र ब्याट्रीको खोजीबारे विभिन्न प्रतिक्रिया देखिए पनि त्यसप्रति भ्रममा नपर्न अनुरोध गरिएको छ। प्राधिकरणले यस्तो कमजोरी सुधार गर्न प्रयासरत रहेको जनाउँदै, प्रणाली सुदृढीकरणका लागि समय लाग्ने बताएको छ।

 

प्रतिक्रिया