काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना र सुरक्षा निकायहरू नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था र शान्तिप्रति पूर्ण रूपमा प्रतिवद्ध रहेको स्पष्ट पारेका छन्। विहीबार काभ्रेको पाँचखालस्थित अन्समिल मिसन लिवियामा जाने श्री नयाँ भैरवीदल गुल्म सातौं डफ्फाको प्रि–डिप्लोयमेन्ट तालिम समापन कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो धारणा राखेका हुन्।
नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघको आह्वानमा लामो समयदेखि शान्ति स्थापनाका लागि सक्रिय रहँदै आएको नेपाली सेनाले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि उच्च राख्न सफल भएको उल्लेख गरे। उनले नेपाली सेनाको अनुशासन, वफादारिता, दक्षता र शान्ति कार्यमा देखाएको प्रतिबद्धताका कारण संयुक्त राष्ट्रसंघले नेपालमाथि विश्वास गर्दै आएको बताए।
राष्ट्रपतिका अनुसार अहिलेसम्म करिब १ लाख ५८ हजारभन्दा बढी नेपाली सैनिकले ४४ वटा शान्ति मिसनमा सहभागिता जनाइसकेका छन्। हाल पनि विभिन्न ११ मिसनमा करिब ६ हजार सैनिक खटिएका छन्। नेपाल शान्ति सैनिक योगदान गर्ने मुलुकहरूमध्ये अग्रपंक्तिमा रहेकोमा उनले गर्व व्यक्त गरे।
उनले शान्ति सैनिकहरूलाई केवल सैनिक नभएर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने शान, शान्ति र मानवताको प्रतीकको रूपमा उल्लेख गरे। उनले शान्ति मिसनमा खटिने टोलीको तयारीको अवलोकन गर्दै देश र सेनाको छवि उच्च राख्न सबैलाई पेशेवर ढंगले कार्य सम्पादन गर्न शुभकामना व्यक्त गरे।
राष्ट्रपति पौडेलले विश्व परिवेशमा बढ्दो सुरक्षा चुनौतीप्रति सजग रहन आग्रह गर्दै लिवियाको अन्समिल मिसनमा समेत चुनौतीपूर्ण अवस्था आउन सक्ने भएकाले मानसिक र शारीरिक रूपमा तयार रहन सुझाव दिए। कार्यक्रममा शान्ति मिसनका सम्बन्धमा तालिमको जानकारी पनि गराइएको थियो।