ओभरलोडका कारण कालीकोटमा बोलेरो दुर्घटना, सात जनाको निधन

सांकेतिक तस्बिर

कालीकोट — कालीकोट जिल्लामा आइतबार क्षमताभन्दा तीनगुणा बढी यात्रु बोकेको बोलेरो गाडी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। दुर्घटना पलाता गाउँपालिका–३, राडुनेटामा भएको हो। बोलेरो ट्र्याकको उकालो चढ्न नसक्दा सडकबाट करिब ५०० मिटर तल खसेको बताइएको छ।

 

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार, दुर्घटना भएको बोलेरोमा चालकसहित २० जना सवार थिए, जबकि गाडीमा ५ जनाको सिट क्षमता मात्र थियो। घटनास्थलमै ६ जनाको र अस्पतालमा एक जनाको ज्यान गएको छ। मृतकमा पलाता–६ की दशकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, पलाता–५ की छाया शाही, पलाता–३ का दमन रोकाया र चालक धनीराम रावत रहेका छन्।

 

घाइतेहरूलाई सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत लगिएको छ, जहाँ उनीहरूको उपचार भइरहेको छ। घाइते यात्रु भूपेन्द्र रोकायाका अनुसार गाडी ओभरलोड हुनु र साँघुरो सडकमा उकालो नचढ्न सक्दा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएको यात्रुहरूले आफ्नो गाउँमा सवारी साधनको अभावका कारण एकै गाडीमा अत्यधिक यात्रु सवार भएको बताए।

 

कर्णाली करिडोर हुँदै गाउँसम्म सडक पुगे पनि कर्णाली नदीमा पुलको अभावले गर्दा यात्रुहरू जोखिमपूर्ण सवारीमा यात्रा गर्न बाध्य छन्। यसै कारण बोलेरोको ओभरलोड समस्या जटिल बनेको हो।

 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले गाउँमा ट्राफिक व्यवस्थापन नहुँदा ओभरलोड समस्या बढेको र दुर्घटना निम्तिएको बताए। कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघले घाइतेको उपचारका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। प्रहरी तथ्याङ्क अनुसार, कर्णाली प्रदेशमा पछिल्ला तीन वर्षमा २९७ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् भने ३,८८३ जना घाइते भएका छन्।

प्रतिक्रिया