काठमाडौँ । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको लामो वार्ता बिना निष्कर्ष टुंगिएको छ। करिब २१ घण्टासम्म चलेको उच्चस्तरीय छलफलमा दुवै पक्षबीच स्थायी युद्धविराम वा व्यापक सम्झौता हुन सकेन।
अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले वार्तामा अमेरिका पक्षले “अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव” अघि सारेको भए पनि इरानले त्यसलाई स्वीकार नगरेको बताए। उनका अनुसार वार्तामा अमेरिका लचिलो भए पनि मुख्य विवाद इरानको परमाणु कार्यक्रममै केन्द्रित रह्यो, जसलाई त्याग्न इरान तयार देखिएन।
इरानको विदेश मन्त्रालयका अनुसार वार्तामा Hormuz Straitको सुरक्षा, क्षेत्रीय स्थिरता तथा तेहरानको परमाणु कार्यक्रमलगायत विषयमा गहन छलफल भएको थियो। केही प्राविधिक विषयमा संवाद अघि बढे पनि मुख्य मुद्दामा सहमति जुट्न सकेन।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको परिणामप्रति उदासीन देखिँदै सम्झौता भए पनि नभए पनि आफूलाई खास फरक नपर्ने बताएका छन्। उनले चीनले इरानलाई सैन्य सहयोग गरे त्यसको परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएका छन्।
वार्ता निष्कर्षमा नपुगे पनि दुवै पक्षबीच संवाद जारी राख्ने संकेत देखिएको छ। विश्लेषकहरूका अनुसार परमाणु कार्यक्रम र क्षेत्रीय सुरक्षासम्बन्धी मतभेद समाधान नभएसम्म ठोस सहमति हुन कठिन देखिन्छ।