विराटनगर — कोशी प्रदेश सरकारले आयोजना गरेको दुईदिने ‘कोशी प्रदेश लगानी सम्मेलन–२०२५’को समापनसँगै एक खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ बराबरका ४६ परियोजनामा सहमतिपत्रमा हस्ताक्षर भएको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा सम्पन्न समापन समारोहमा प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला र विभिन्न लगानीकर्ताबीच सहमतिपत्र आदान–प्रदान गरिएको हो। प्राधिकरणका अनुसार कृषिका ८, ऊर्जा क्षेत्रमा ३, उद्योगतर्फ १२, पूर्वाधारमा ९, सूचना प्रविधिमा २, पर्यटनमा १० र फोहरमैला व्यवस्थापनका २ परियोजनाका लागि सहमति जुटेको छ।
सार्वजनिक–निजी साझेदारीका २७ र निजी क्षेत्रका १९ परियोजना सम्मेलनबाट अघि बढ्ने भएका छन्। सम्मेलनमा प्रदेश सरकारले ७१ परियोजना प्रस्तुत गर्दै कुल अनुमानित लागत १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ रहेको जनाएको थियो।
मुख्यमन्त्री कार्कीले समापन समारोहमा प्रदेशका लागि यो दिन ऐतिहासिक भएको बताउँदै आर्थिक, पर्यटकीय र समग्र विकासतर्फ सकारात्मक सन्देश दिएको उल्लेख गरे। उनले निजी र विदेशी लगानीमार्फत रोजगारी सृजना, पूँजी निर्माण र समृद्धिको यात्रा सुरु भएको बताए।
प्रदेशसभाका सभामुख अमरबहादुर विष्टले लगानीमैत्री कानुन निर्माणका लागि सबै राजनीतिक दलहरूको एकता आवश्यक रहेको धारणा राखे। आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सहमतिका परियोजना २१ दिनभित्र औपचारिक सम्झौतामा रूपान्तरण गरिने बताए।
पूर्वमुख्यमन्त्री केदार कार्कीले स्थानीय संस्कृति र प्राकृतिक स्रोत साधनको सदुपयोग गर्दै थप लगानी भित्र्याउनुपर्नेमा जोड दिए। भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले विकासमा सबै दलको ऐक्यबद्धता रहेको बताए।
चिनियाँ लगानीकर्ता लियाङ झुङ, एनआरएन लगानीकर्ता रेजिना राई प्रधान, तथा अन्य लगानीकर्ताले कोशी प्रदेशमा लगानीका लागि प्रशस्त सम्भावना रहेकाले ढुक्क भएर अगाडि बढ्न सकिने विश्वास व्यक्त गरे।