काठमाडौँ — नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा समान रूपमा प्रतिलिटर १५ रुपैयाँ बढाइएको हो।
निगमका अनुसार पछिल्लो एक महिनादेखि पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढिरहेको छ। यही प्रभावका कारण आगामी १५ दिन (मार्च १६ देखि ३१ सम्म) मा करिब ५ अर्ब रुपैयाँ घाटा हुने अनुमान गरिएको छ। यदि मूल्यवृद्धि यही गतिमा जारी रहेमा त्यसपछि थप १५ अर्ब रुपैयाँसम्म घाटा पुग्न सक्ने निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १८४.५० रुपैयाँ कायम गरिएको छ। दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा १८६ रुपैयाँ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा १८७ रुपैयाँ कायम गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्यवृद्धिका कारण उत्पन्न अवस्थालाई ध्यानमा राख्दै निगमले उपभोक्तासँग इन्धनको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ। साथै, अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नेबित्तिकै स्वदेशमा पनि मूल्य समायोजन गरिने जनाएको छ।