काठमाडौँ । निर्देशनमा निखार ल्याउँदै आफ्नो कला सांगितिक आकाशमा विस्तार गरिरहेका युवा निर्देशक निशान बानियाँले ‘भाग्यमै रुन लेखेको’ गीतबाट विन्ध्यवासिनी फाउन्डेसनको आयोजनामा बिहीबार साँझ राजधानीमा सम्पन्न १५औं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्डमा उत्कृष्ट म्युजिक भिडियो निर्देशक (लोकदोहोरी विधा) को उपाधि जित्न सफल भएका छन्।
साङ्गीतिक क्षेत्रमै २०६९ सालदेखि सर्जकका रूपमा प्रवेश गरेका बानियाँले २०७४ सालदेखि निर्देशन सुरु गरेका हुन्। उनले हालसम्म ५ सयभन्दा धेरै म्युजिक भिडियोको निर्देशन गरिसकेका छन्।
बानियाँले आफ्ना निर्देशनमा प्रकाश सपुत, दुर्गेश थापा, रञ्जिता गुरुङ, अञ्जु निरौला, सारिका केसी देखि हालका चर्चित कलाकार उषा उप्रेती, गीता ढुङ्गाना, जुना विश्वकर्मा, बिना राउत र स्मारिका ढकाल सम्मलाई अभिनय गराइसकेका छन्।
पानस डिजिटल नामक म्युजिक कम्पनीका सञ्चालक समेत रहेका उनले उपाधिले आफूलाई अझ प्रेरणा मिलेको बताएका छन्।
उपाधि जितेपछि बानियाँले सामाजिक सञ्जालमा लेखेका छन्:
“१५औं विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ मा ‘भाग्यमै रुन लेखेको’ गीतबाट सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक (लोकदोहोरी विधा) को अवार्ड जित्न सफल भएको छु। मलाई विजेता बनाउनका लागि आफ्नो अमूल्य समय खर्च गरेर भोटिङ गरेर सहयोग गर्नुहुने सबैप्रति धेरै धेरै आभारी छु।
साथै, फेदिखोलाको नाम राष्ट्रिय स्तरमा चम्किनुपर्छ भन्ने अठोटका साथ भोटिङका लागि मनदेखि नै अपिल गरिदिनुहुने फेदिखोला गाउँपालिकाका उपाध्यक्ष घनश्याम सुवेदी, राजन पराजुली, दिपक अर्याल, एल.पी. ढकाल लगायत सम्पूर्णप्रति मनैदेखि आभार प्रकट गर्न चाहन्छु।
देश तथा विदेशबाट दृश्य तथा अदृश्य रूपमा भोट गरेर सहयोग गर्नुहुने मेरा आफन्त, इष्टमित्र, गीत-संगीतसँग आबद्ध साथीहरू लगायत सबैप्रति आभारी छु। अन्ततः मलाई योग्य ठानी अवार्ड प्रदान गर्नुहुने विन्ध्यवासिनी म्युजिक अवार्ड परिवारप्रति पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु।”