काठमाडौँ — विद्यालय शिक्षा ऐन ल्याउन माग गर्दै शिक्षकहरूले नयाँ वर्ष २०८२ को पहिलो दिन पनि प्रदर्शन जारी राखेका छन्। सोमबार माइतीघर–बानेश्वर क्षेत्रमा शिक्षकमूलक प्रदर्शन १३औं दिन प्रवेश गरेको हो। नयाँ वर्षको उत्साहबीच पनि उनीहरूले आफ्ना माग पुरा नभएसम्म आन्दोलन नछोड्ने अडान दोहोर्याएका छन्।
सरकारले नयाँ वर्षसँगै नयाँ शैक्षिक सत्रको सुरुवात गर्न भर्ना अभियान सञ्चालनका लागि देशभरका विद्यालय र स्थानीय तहलाई सर्कुलर पठाइसकेको छ। तर नेपाल शिक्षक महासंघले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ। महासंघले संसदको वर्षे अधिवेशन वा विशेष अधिवेशन बोलाएर, अथवा अध्यादेशमार्फत विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने माग राखेको छ।
शिक्षकहरूका अनुसार प्रस्तावित ऐनमा विगतमा सरकारसँग भएका सहमति समावेश हुनुपर्छ। तर हालसम्म सरकारले त्यस्तो गम्भीर प्रयास नगरेको उनीहरूको आरोप छ।
उक्त आन्दोलनले ७० लाख विद्यार्थी सहभागी हुने नयाँ भर्ना अभियानमा असर पारिसकेको छ। यस्तै, एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण पनि प्रभावित बनेको छ। आन्दोलन चाँडै रोकिएन भने वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा पनि असर पर्न सक्ने अनुमान गरिएको छ।