काठमाडौं । नयाँ सरकार गठनपछिको दोस्रो कारोबार दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य गिरावट देखिएको छ। सोमबार नेप्से ४७ दशमलव ७१ अंकले घट्दै दुई हजार ८३१ दशमलव ३९ बिन्दुमा झरेको हो, जुन एक दशमलव ६५ प्रतिशतको गिरावट हो।
यस दिन ३४१ कम्पनीका तीन करोड १६ लाखभन्दा बढी कित्ता सेयर एक लाख ५९ हजारभन्दा बढी पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम १२ अर्ब ९६ करोड रुपैयाँ नाघेको छ। कारोबार रकम उच्च रहे पनि बजार समग्रमा दबाबमा देखिएको छ।
आजको कारोबारमा सबै उपसूचकहरू घटेका छन्। कुल २३७ कम्पनीको सेयर मूल्य घट्दा मात्र २६ कम्पनीको मूल्य बढेको छ। रिलाइन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी र होटल फरेस्ट इनका सेयरमा सकारात्मक सर्किट लागेको छ भने सोलु हाइड्रोपावर लिमिटेड को सेयर मूल्य सबैभन्दा धेरै ७ दशमलव ७९ प्रतिशतले घटेको छ।
समग्रमा बजारमा लगानीकर्ताको विश्वास कमजोर देखिएको छ र लगातार दोस्रो दिन पनि नेप्सेमा गिरावट जारी रहेको छ।