राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार जगतले संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षाका लागि निर्भयपूर्वक काम गर्ने विश्वास व्यक्त गरेका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसरमा शुभकामना सन्देश दिँदै उनले राज्यका तीनवटै अङ्गलाई सजग र सतर्कतापूर्वक काम गर्न र नागरिकलाई सत्य सूचना प्रवाह गर्न सञ्चार जगत सफल होस् भन्ने कामना गरेका हुन्।
उनको सन्देशमा भनिएको छ, ‘निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य हामी सबैलाई विदितै छ। स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त हो। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो। त्यही भएर नेपाली प्रेसले लोकतन्त्रका लागि भएका आन्दोलनमा ठूलो योगदान गरेको छ।’
प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुने संवैधानिक हक कार्यान्वयन गर्न अनिवार्य रहेको र यसले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन सहयोग गर्ने उनले उल्लेख गरेका छन्। प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रीकरणको महत्त्वपूर्ण पक्ष भएको उनको भनाइ छ।
‘प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ, लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुन्छ। यसका लागि आवश्यक वातावरण बनाउनु हामी सबैको जिम्मेवारी हो। हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको छ। सूचना सङ्कलनदेखि प्रवाहसम्म निर्वाध संलग्न हुनु नै प्रेस स्वतन्त्रता हो,’ उनको सन्देशमा भनिएकाे छ, ‘बहुलवादमा आधारित पत्रकारिताले सबै प्रकारका समाचारमा नागरिकको सहज पहुँच स्थापित गर्छ र सञ्चारमाध्यमबाट सबै वर्ग–समुदायको आवाज मुखरित हुन्छ।’
उनले समाजमा विभिन्न समयमा अफवाह फैलन सक्ने र यसले नागरिकलाई दिग्भ्रमित गर्ने उल्लेख गर्दै स्वतन्त्र पत्रकारिताले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी सही कुरा स्थापित गर्न बढी मिहिनेत गर्नुपर्नेमा जोड दिएका छन्।
सामाजिक सञ्जालको बढ्दो प्रयोग र त्यसबाट प्रवाहित मिथ्या वा भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्ने र व्यवस्थालाई कमजोर बनाउने चुनौती रहेको उल्लेख गर्दै उनले यस्ता चुनौती सामना गरी सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न प्रेस जगतलाई यो दिनले थप ऊर्जा, हौसला र उत्प्रेरणा देओस् भन्ने कामना गरेका छन्।
‘जनताको ठूलो त्याग, सङ्घर्ष र बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको छ। लामो राजनीतिक सङ्घर्ष पूरा भएर मुलुक आर्थिक रूपान्तरणमार्फत समृद्धिको बाटोमा अघि बढेको छ। मुलुकको यो आवश्यकतालाई ध्यानमा राखेर नेपाली प्रेस त्यसैतर्फ केन्द्रित हुनेछ भन्ने अपेक्षा गरेको छु,’ उनले सन्देशमा भनेका छन्, ‘नेपाली सञ्चार जगत संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ भन्ने विश्वासका साथ राज्यका तीनवटै अङ्गलाई सजग र सतर्कतापूर्वक कार्य सम्पादन गर्न र आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सफलता प्राप्त होस् भन्ने शुभकामना दिन चाहन्छु।’ रासस