राष्ट्र बैंकले नयाँ नोट नछाप्दा डेढ अर्ब रुपैयाँको बचत

काठमाडाैं - नेपाल राष्ट्र बैंकले यस वर्ष दसैँतिहारको लागि नयाँ नोट मुद्रण नगर्दा नोट सटहीमा ठूलो मात्रामा कमी आएको छ। गत वर्ष काठमाडौँ उपत्यकामा मात्रै साढे १४ अर्ब तथा देशभर २९ अर्ब रुपैयाँको नयाँ नोट सटही भएको थियो भने यस वर्ष करिब चार अर्बमा सीमित रहेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका निर्देशक बासुदेव भट्टराईका अनुसार यस वर्ष राष्ट्र बैंकका कार्यालयबाट करिब दुई अर्ब र अन्य बैंकहरूबाट पनि सोही बराबरी नोट सटही भएको अनुमान गरिएको छ।

नयाँ नोट मुद्रण नगर्दा त्यसका लागि लाग्ने झण्डै डेढ अर्ब रुपैयाँको खर्च बचत भएको छ भने बैंकले सटहीको व्यवस्थापनका लागि थप जनशक्ति परिचालन गर्नुपर्ने झन्झट पनि टरेको छ। भट्टराईका अनुसार गत वर्ष मात्रै नयाँ नोट मुद्रण गर्न डेढ अर्ब रुपैयाँ खर्च भएको थियो। यस वर्ष बैंकले नयाँ नोट मुद्रण नगरी हालका सफा र सुकिला नोट प्रयोगमा जोड दिएको छ।

उनका अनुसार प्रत्येक वर्ष दसैँतिहारजस्ता चाडबाडमा अत्यधिक नयाँ नोटको माग हुने र त्यसपछि ती नोट बैंकका ढुकुटीमा थुप्रिने समस्या देखिएकाले यस वर्ष ती मौज्दात भएका नोटको सदुपयोग गरिएको छ।

राष्ट्र बैंकले यसपटक नयाँ नोट छाप्न नपर्नुको एउटा कारण बजार र बैंक ढुकुटीमा गत वर्षको तीन गुणासम्म नोट मौज्दात रहेको पनि भट्टराईले बताए। उनका अनुसार नयाँ होस् वा पुरानो, नोटको मूल्य समान नै हुन्छ, त्यसैले नयाँ नोट छापेर अतिरिक्त आर्थिक भार थप्न नहुने बताइएको छ।

आगामी वर्षमा पनि चलनचल्तीका सफा र सुकिला नोटको प्रयोगलाई निरन्तरता दिने र अझ सुकिला नोटलाई प्राथमिकता दिने योजना राष्ट्र बैंकको रहेकोछ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय