काठमाडौं - नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ। सूचना अधिकार ऐनअनुसार सार्वजनिक गरिएको विवरणअनुसार प्राधिकरणले विद्युत बिक्री, ब्याज तथा अन्य स्रोतहरूबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ।
यस अवधिमा विद्युत् खरिद, प्रशासनिक खर्च, र विभिन्न आयोजना सञ्चालनमा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च भएको छ। साउनदेखि पुस मसान्तसम्ममा करकट्टी गर्नुअघि प्राधिकरणको अप्रशोधित नाफा ११ अर्ब ३६ करोड रुपैयाँ रहने अनुमान गरिएको छ।
आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरणले त्यसपछिका वर्षहरूमा लगातार नाफा कमाउँदै आएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। यस नाफाबाट प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण, वितरण पूर्वाधार विस्तार र विद्युतीकरण परियोजनाहरूमा लगानी गरिरहेको छ।
चालु आवको पहिलो छ महिनामा प्राधिकरणले विद्युत् बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ। यस अवधिमा सहायक तथा सम्बद्ध कम्पनीहरूबाट १ अर्ब १५ करोड र निजी उत्पादक कम्पनीहरूबाट ५ अर्ब १६ करोड गरी ६ अर्ब ३१ करोड युनिट विद्युत् खरिद गरिएको छ। खरिद गरिएको विद्युत्को लागि ३४ अर्ब ८४ करोड रुपैयाँ भुक्तानी गरिएको छ। भारतबाट २४ करोड २० लाख युनिट विद्युत् आयात गरी १ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ भने साउनदेखि पुससम्ममा १ अर्ब ७७ करोड १८ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरिएको छ।
यस अवधिमा सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेटअन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा १३ अर्ब ३५ करोड रुपैयाँ खर्च गरिएको छ। त्यस्तै, वैदेशिक सहायता अन्तर्गत सोझै भुक्तानीमा १० अर्ब ४९ करोड रुपैयाँ खर्च भएको छ।