ट्रम्पको व्यापार युद्धले विश्व अर्थतन्त्रमा तनाव

काठमाडाैं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको, चीन, युरोपेली संघलगायत देशहरूबाट आयात हुने सामानमा उच्च भन्सार कर लगाउने निर्णय गरेका छन्। क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाइएको छ भने, क्यानेडेली ऊर्जा आयातमा १० प्रतिशत कर थपिएको छ। यस्तै, चीनबाट आउने सामानमा १० प्रतिशत कर वृद्धि गरिएको छ, र युरोपेली संघबाट आयात हुने सामानमा पनि १० प्रतिशत कर लगाउने तयारी गरिएको छ। ट्रम्प प्रशासनको यो निर्णयले विश्व व्यापारमा ठूलो असर पार्ने देखिन्छ।

ट्रम्पले गैरकानुनी आप्रवासन रोक्न नसकेको तथा अवैध फेन्टनाइलको तस्करी नियन्त्रण नगरेको आरोप लगाउँदै क्यानडा र मेक्सिकोमाथि कर लगाएका हुन्। यसको जवाफमा क्यानडाले १ खर्ब ५५ अर्ब डलर बराबरका अमेरिकी सामानमा २५ प्रतिशत आयात कर लगाउने घोषणा गरिसकेको छ। त्यस्तै, अमेरिकाबाट आउने डेरी उत्पादनमा २५० प्रतिशतसम्म कर लगाउने निर्णय गरिएको छ। चीनले पनि अमेरिकी कृषिजन्य उत्पादनमा १० देखि १५ प्रतिशतसम्म आयात कर बढाइसकेको छ।

ट्रम्पको कर नीतिले विश्वव्यापी व्यापार सम्बन्धमा नयाँ तनाव निम्त्याएको छ। अमेरिकाका प्रमुख व्यापार साझेदार क्यानडा, मेक्सिको, चीन, जापान, दक्षिण कोरिया, भारतलगायत मुलुकहरू पनि यसबाट प्रभावित हुनेछन्। ट्रम्पले आफ्नो कर नीतिलाई अमेरिकालाई फेरि महान् बनाउन र घरेलु रोजगारी जोगाउन आवश्यक कदमको रूपमा प्रस्तुत गरिरहेका छन्। तर, अर्थविद्हरूले भने यो कदमले विश्वव्यापी व्यापारलाई संरक्षणवादतर्फ धकेल्ने र अमेरिकी उपभोक्ताका लागि मूल्यवृद्धि निम्त्याउने चेतावनी दिएका छन्।

अर्थशास्त्रीहरूका अनुसार, ट्रम्पको निर्णय विश्व व्यापार संगठन (डब्लूटीओ) को सिद्धान्तविपरीत छ। अर्थविद् पोषराज पाण्डेका अनुसार, यदि हरेक मुलुकले यसरी नै मनपरी भन्सार शुल्क तोक्दै जाने हो भने अन्तर्राष्ट्रिय व्यापार प्रणाली भत्कन सक्छ। उनले यसलाई "व्यापार युद्ध" को सुरुवात भनेका छन्। अर्थविद् विश्व पौडेलका अनुसार, ट्रम्पको नीतिले अमेरिका आफैंले निर्माण गरेको अन्तर्राष्ट्रिय व्यापार नियमको उल्लंघन गरेको देखिन्छ। अमेरिकाले आफ्नो निर्णयबाट अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक, संयुक्त राष्ट्रसंघ, तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सम्बन्ध कमजोर पार्न सक्ने सम्भावना रहेको उनको भनाइ छ।

सन् २०१८ मा पनि ट्रम्पले क्यानडा, मेक्सिको र युरोपेली संघबाट आयात हुने स्टिलमा २५ प्रतिशत र आल्मुनियममा १० प्रतिशत कर लगाएका थिए। त्यसको प्रतिकारस्वरूप युरोपेली संघले पनि ३ अर्ब डलरभन्दा बढी अमेरिकी सामानमा कर लगाएको थियो। चीनले अमेरिकाबाट आयात हुने १ खर्ब १० अर्ब डलरभन्दा बढी मूल्यका वस्तुमा कर लगाएको थियो।

व्यापारिक प्रतिस्पर्धाका कारण अमेरिकाले चीनबाट आयात गर्ने सामानको मात्रा घट्दै गएको छ। सन् २०१८ मा अमेरिकी आयातको २० प्रतिशत हिस्सा चीनको थियो भने हाल यो १५ प्रतिशतमा झरेको छ। मेक्सिकोले अमेरिका निर्यात गर्ने प्रमुख देशको रूपमा चीनलाई समेत उछिनिसकेको छ। अमेरिकामा मेक्सिकोबाट ४ खर्ब ७६ अर्ब डलरको सामान निर्यात हुने गरेको छ भने चीनको निर्यात ४ खर्ब २७ अर्ब डलरमा झरेको छ।

अर्थशास्त्रीहरूका अनुसार, ट्रम्पको कर नीतिले अमेरिका र उसका साझेदार मुलुकहरूबीचको व्यापारलाई झनै जटिल बनाउनेछ। संरक्षणवादलाई बढावा दिने यस्तो नीतिले अमेरिका र अन्य मुलुकहरूबीचको सम्बन्धलाई कमजोर पार्ने तथा विश्वव्यापी व्यापारिक अस्थिरता निम्त्याउने सम्भावना रहेको छ। आजको कान्तिपुर दैनिकबाट 

 

प्रतिक्रिया