रामेछाप । जिल्ला कारागार रामेछापमा बिहीबार बिहान कैदीबन्दीहरूले भाग्ने प्रयास गर्दा नेपाली सेनाले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ। कारागारको भित्री गेट तोडेर बाहिरी गेटसम्म पुग्न लागेपछि स्थितिलाई नियन्त्रणमा लिन सेनाले गोली चलाएको जनाइएको छ।
रामेछाप अस्पतालका अनुसार उपचारका क्रममा तीन जनाको मृत्यु भएको हो। घटनामा १३ जना कैदी घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले घाइते कैदीबन्दीहरूलाई जिल्ला अस्पताल रामेछापमा उपचार गराइँदै गरेको जानकारी दिए।
बिहानै गोली चलेको आवाज रामेछाप बजारका स्थानीयले सुनेको बताएका छन्। हाल कारागारमा ३३५ जना कैदीबन्दी रहेका छन्। प्रशासनले अहिले स्थिति पूर्ण रूपमा नियन्त्रणमा आएको जनाएको छ।