बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला, कसले दिन पाउँछ आवेदन ?

काठमाडौं। बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज (चैत १) देखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै आईपीओ निष्काशन गरेको हो।

कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ जारी पूँजीको २० प्रतिशत बराबर २० करोड ८० लाख रुपैयाँ मूल्यको २० लाख ८० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये १० करोड ४० लाख रुपैयाँ बराबरका प्रतिकित्ता १०० रुपैयाँ दरका १० लाख ४० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

स्थानीयका लागि छुट्याइएको सेयरमध्ये ५ लाख २० हजार कित्ता सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २, ३ र ४ का अति प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गरिनेछ। त्यस्तै ३ लाख १२ हजार कित्ता सोही नगरपालिकाको वडा नम्बर ५, ६, ७ र ११ का बासिन्दालाई तथा २ लाख ८ हजार कित्ता सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रका स्थायी बासिन्दालाई बाँडफाँट गरिनेछ।

यसैगरी सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात १ करोड ५ लाख रुपैयाँ बराबरका १ लाख ४ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको छ।

उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन अवधि छिटोमा चैत १५ गते र ढिलोमा चैत ३० गतेसम्म रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा चैत ५ गते र ढिलोमा चैत १५ गतेसम्म आवेदन दिन सकिनेछ।

इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

कम्पनीले सोलुखुम्बुमा १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाको अनुमानित कुल लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार रुपैयाँभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत करिब १९ करोड ४७ लाख रुपैयाँ अनुमान गरिएको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २४ वर्ष बाँकी रहेको छ। यस आयोजनामा गरिएको लगानी सामान्य आधारमा ५.७८ वर्षमा र डिस्काउन्टेड आधारमा ८.१५ वर्षमा फिर्ता हुने प्रक्षेपण गरिएको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकसहित नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सक्नेछन्। साथै एनएमबि बैंकको सल्लेशी शाखा, लक्ष्मी सनराइज बैंकको सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु शाखा र प्राइम कमर्सियल बैंकको नेचा सल्यान शाखाबाट पनि आवेदन दिन सकिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरेर आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आवेदन फाराम प्राप्त गर्दा २ रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया