नेपालका बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकैदिनमा उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, भदौ १५ गतेसम्म कुल निक्षेप ७२ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ। यो रकम भदौ १४ गतेको तुलनामा ६ अर्ब रुपैयाँले बढी हो।
विशेषगरी वाणिज्य बैंकहरूले निक्षेप संकलनमा ठुलो वृद्धि गरेका छन्। राष्ट्र बैंकका अनुसार, भदौ १५ मा वाणिज्य बैंकहरूको मात्रै निक्षेप ७ अर्ब रुपैयाँले बढेर ६४ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात् भदौ १४ मा यो रकम ६४ खर्ब ८८ अर्ब रुपैयाँ मात्र थियो।
निक्षेपमा आएको वृद्धिसँगै कर्जा लगानीमा पनि सुधार देखिएको छ। भदौ १५ सम्ममा बैंकहरूको कुल कर्जा लगानी ५६ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ३ अर्बले बढी हो। वाणिज्य बैंकहरूको मात्रै कर्जा लगानी ४९ खर्ब ८२ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।
बैंकिङ क्षेत्रको तरलता अवस्था मूल्याङ्कन गर्ने महत्वपूर्ण सूचकांक क्रेडिट टु डिपोजिट (सीडी) रेसियो भदौ १५ मा ७६.३७ प्रतिशतमा कायम भएको छ। त्यस्तै, अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत रहेको राष्ट्र बैंकको विवरणले जनाएको छ।
बैंकिङ प्रणालीमा देखिएको यो सकारात्मक संकेतले बजारमा तरलता सहज बन्दै गएको प्रष्ट हुने विशेषज्ञहरूको टिप्पणी छ। निक्षेप र कर्जा दुवैमा देखिएको सुधारले आगामी दिनमा आर्थिक गतिविधिमा थप गतिशीलता आउने अपेक्षा गरिएको छ।